२६ असार २०८३, शुक्रबार
10 July 2026, Friday

स्पेनको समुद्रमा तापक्रमको नयाँ रेकर्ड, जुनमै पानी अत्यधिक तातो

स्पेनको समुद्रमा तापक्रमको नयाँ रेकर्ड, जुनमै पानी अत्यधिक तातो

स्पेन- स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्रको पानीको तापक्रमले नयाँ रेकर्ड बनाएको छ। जुन महिनाको अन्त्यमा त्यहाँको औसत तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुद्रको पानी सबैभन्दा तातो हुने गर्छ। तर यस वर्ष जुन महिनामै तापक्रमले अगस्टको ऐतिहासिक रेकर्डलाई जितेको छ। बुधबार स्पेनको तटीय क्षेत्रमा पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो। धेरैजसो पर्यटकीय क्षेत्रमा तापक्रम २७ डिग्री र बेलियारिक टापुमा २९ डिग्री सेल्सियससम्म पुगेको छ।

समुद्रको तापक्रम यसरी अस्वाभाविक रूपमा बढ्नु स्पेनको मात्र समस्या नभएर विश्वव्यापी जलवायु परिवर्तनको संकेत भएको विज्ञहरूले बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थाहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर समुद्रको तापक्रमले अघिल्ला वर्षका रेकर्डहरू पार गरिसकेको छ।

बार्सेलोनाका समुद्री तटमा पुग्ने पर्यटक र स्थानीय बासिन्दाले पानी अत्यधिक तातो भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जलवायु परिवर्तनका कारण समुद्रको किनारमा बालुवा घट्दै गएको र अत्यधिक गर्मीले दैनिक जीवन प्रभावित भएको स्थानीयले बताए। विदेशी नागरिकहरूले पनि अघिल्ला वर्षहरूभन्दा यस वर्षको गर्मी निकै तीव्र र कष्टकर रहेको बताएका छन्। विज्ञहरूले यसलाई पृथ्वी तातिँदै गएको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्।