२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

दक्षिण स्पेनको जङ्गलमा भीषण आगलागी: १२ जनाको मृत्यु, २३ बेपत्ता

दक्षिण स्पेनको जङ्गलमा भीषण आगलागी: १२ जनाको मृत्यु, २३ बेपत्ता

स्पेन- दक्षिण स्पेनको अल्मेरिया नजिकै लस गालार्डोस क्षेत्रको जङ्गलमा लागेको भीषण आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ। यस घटनामा अन्य २३ जना अझै बेपत्ता छन्। ज्यान गुमाउने मध्ये चार जना बेलायती नागरिक हुन सक्ने स्थानीय अधिकारीले बताए।

आगो निभाउन सयौँ उद्धारकर्मी, सेना र ३० वटा विमान परिचालन गरिएका छन्। आगो लगभग नियन्त्रणमा आए पनि हावा चलेमा अवस्था फेरि बिग्रन सक्ने अन्तास सहरका मेयरले बताए। आगलागी पछि सयौँ मानिसलाई घरबाट निकालेर सुरक्षित स्थानमा सारिएको छ। मृतकहरूको शव बेदार भन्ने सानो गाउँको वरपर भेटिएको थियो।

लगातारको ४० डिग्री सेल्सियसको गर्मीका कारण यसपटक युरोपभर जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ। बेलायतको सरकारले स्पेनका अधिकारीहरूसँग यस विषयमा कुराकानी गरिरहेको छ। त्यहाँ बिदा मनाउन गएका मानिसहरूले आकाश धुँवाले कालो भएको र अवस्था निकै डरलाग्दो रहेको बताए।