२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

दक्षिणपूर्वी एसियाली मुलुकबाट ८३६ नेपालीको उद्धार: राहदानी अब जुनसुकै जिल्लाबाट पाइने

दक्षिणपूर्वी एसियाली मुलुकबाट ८३६ नेपालीको उद्धार: राहदानी अब जुनसुकै जिल्लाबाट पाइने

काठमाडौं- परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङ (ठगी) मा परेका ८३६ जना नेपाली नागरिकलाई दक्षिणपूर्वी एसियाका विभिन्न देशबाट उद्धार गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार कम्बोडियाबाट ७०९ जना, म्यानमारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जनाको उद्धार गरिएको हो।

यी क्षेत्रका अनलाइन स्क्यामिङ सेन्टरमा नेपालीहरू ठगिने क्रम बढेपछि सरकारले सचेतना र उद्धारका लागि निरन्तर पहल गरिरहेको उनले बताए। यसैगरी, कम्बोडिया सरकारले भिसाको अवधि सकिएर बसेका ६०२ जना नेपालीको भिसा शुल्क र जरिवानासमेत मिनाहा गरिदिएको छ। सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाउन विभिन्न २० वटा देशका लागि छुट्टाछुट्टै रणनीतिसमेत तयार पारेको मन्त्रालयले जनाएको छ।

अर्कोतर्फ, सर्वसाधारणलाई राहदानी (पासपोर्ट) लिन सजिलो होस् भनेर सरकारले नयाँ व्यवस्था सुरु गरेको छ। अब नेपाली नागरिकले आफू जहाँ भए पनि नजिकैको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। छापिएका राहदानी छिटो जिल्लाहरूमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ भने राहदानी ऐन संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ।