अमेरिका र इरानबीचको युद्धविराम सकियो, वार्ता भने जारी रहने ट्रम्पको घोषणा
- २८ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन्। तर, उनले तेहरानसँगको युद्धविराम भने अब समाप्त भएको स्पष्ट पारेका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले यो कुरा सार्वजनिक गरेका हुन्। यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान पुगेका छन्। ट्रम्प प्रशासनसँगको आवश्यक समन्वयपछि कतारी टोली त्यसतर्फ लागेको सीएनएनले जनाएको छ।
अमेरिकी समाचार संस्था एक्जियसका अनुसार दुई देशबीचको अर्को चरणको वार्ता आगामी हप्ता स्विट्जरल्याण्डमा हुन सक्ने सम्भावना छ। होर्मुज जलडमरूमध्य भएर गुड्ने जहाजहरूमाथि भएका आक्रमणको जवाफमा अमेरिकी सेनाले यसै हप्ताको सुरुमा इरानमाथि हवाई आक्रमण गरेको थियो। त्यसलगत्तै दुई देशबीचको तनाव थप बढेको हो।