२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानको जवाफी हमलामा एक जनाको मृत्यु

अमेरिकाद्वारा इरानमाथि आक्रमण, इरानको जवाफी हमलामा एक जनाको मृत्यु

न्युयोर्क- अमेरिकाले इरानमाथि फेरि आक्रमण सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरुमा इरानमाथि पुन: नाकाबन्दी लगाउने घोषणा गरेका छन्। ट्रम्पले सुरक्षा दिएबापत अब त्यहाँबाट आवतजावत गर्ने अन्य देशका पानीजहाजसँग शुल्क लिने पनि बताएका छन्।

अमेरिकाको आक्रमणपछि इरानले पनि कडा जवाफी हमला गरेको छ। इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) सँग सम्बन्धित दुईवटा तेल बोक्ने जहाजमा मिसाइल आक्रमण गरेको छ। युएईको रक्षा मन्त्रालयका अनुसार इरानको आक्रमणमा परी एक जना भारतीय नागरिकको ज्यान गएको छ भने अन्य आठ जना घाइते भएका छन्।

इरानले भने ती जहाजहरूले पटक-पटक दिइएको चेतावनी बेवास्ता गर्दै खतरायुक्त क्षेत्रमा प्रवेश गरेकाले आक्रमण गरेको दाबी गरेको छ। यता युएईले भने आफ्ना नागरिक र भूमिको रक्षाका लागि आवश्यक जवाफी कदम चाल्ने चेतावनी दिएको छ। अमेरिका र इरानबीच भर्खरै भएको शान्ति सम्झौता संकटमा परेपछि सुरु भएको यो बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल करिब ८२ डलर पुगेको छ।