१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

इरानले अन्तिम समयमा सम्झौता भाँड्यो, होर्मुज स्ट्रेट अब अमेरिकाले चलाउन सक्छ: डोनाल्ड ट्रम्प

इरानले अन्तिम समयमा सम्झौता भाँड्यो, होर्मुज स्ट्रेट अब अमेरिकाले चलाउन सक्छ: डोनाल्ड ट्रम्प

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ११ घण्टा लामो वार्तापछि लगभग सहमति जुटिसकेको सम्झौता अन्तिम समयमा भाँडिएको बताएका छन्। इरानी प्रतिनिधिहरूले अन्तिम घडीमा सम्झौताका बुँदाहरू बदल्ने प्रयास गरेर सहमति बिगारेको आरोप उनले लगाएका छन्। यसैबीच, ट्रम्पले सम्भवतः अब होर्मुज स्ट्रेट (जलडमरु) को सञ्चालन अमेरिका आफैँले गर्ने संकेत समेत गरेका छन्।

फक्स न्युजसँग फोनमा कुराकानी गर्दै ट्रम्पले आइतबार इरानी टोलीसँग ११ घण्टा लामो बैठक चलेको जानकारी दिए। उनले उक्त बैठकमा हरेक मुद्दा र विषयहरू टुङ्गिइसकेको दाबी गर्दै भने, ‘वास्तवमा यो काम एक मिनेटमै भइसक्नुपर्ने थियो, तर उनीहरूसँग हरेक कुरा मिलाउन ११ घण्टा लाग्यो।’

ट्रम्पका अनुसार बैठक सकिएर बाहिरिएपछि इरानी प्रतिनिधिहरूले पुनः सम्पर्क गरी केही बुँदाहरू परिवर्तन गर्नुपर्ने माग राखेका थिए। इरानले विगत ४७ वर्षदेखि अमेरिकी राष्ट्रपतिहरूलाई यसैगरी अल्झाएर राखेको आरोप लगाउँदै ट्रम्पले भने, ‘उनीहरू पेशेवर वार्ताकार हुन् र अन्तिममा आएर बुँदा परिवर्तन गर्ने प्रयास गर्छन्। तर यसपटक उनीहरूले मबाट केही पनि हासिल गर्न सकेनन्।’