२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

हर्मुज जलडमरूमध्यमा अमेरिकी नाकाबन्दी सुरु, इरानी जहाजलाई मात्र रोक

हर्मुज जलडमरूमध्यमा अमेरिकी नाकाबन्दी सुरु, इरानी जहाजलाई मात्र रोक
न्युयोर्क- अमेरिकी सेनाले मङ्गलवारदेखि महत्वपूर्ण हर्मुज जलडमरूमध्यमा फेरि नौसैनिक नाकाबन्दी सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले मङ्गलवार दिउँसो ४ बजेदेखि नाकाबन्दी लागू भएको जानकारी दिएको छ। यसले इरानी बन्दरगाह र तटीय क्षेत्रमा जाने पानीजहाजलाई लक्षित गरेको छ।
अहिले मध्यपूर्व क्षेत्रमा अमेरिकाका २० भन्दा बढी युद्धपोत र सयौँ सैन्य विमान खटाइएको छ। नाकाबन्दी सुरु हुनुभन्दा एक घण्टा अगाडि अमेरिकी सेनाले इरानी लक्ष्यमा थप हवाई आक्रमण समेत गरेको थियो। अमेरिकी सेना पूर्ण रूपमा सतर्क र तयारी अवस्थामा रहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाहेक अरू देशका जहाजका लागि यो बाटो खुला रहने प्रष्ट पारे। उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै इरानी बन्दरगाहमा जाने वा इरानी सामान बोकेका जहाजलाई मात्र पूर्ण रूपमा रोक्ने तर अरू जहाजलाई नरोक्ने बताए।
अमेरिकी सेनाको यो कदमले मध्यपूर्वमा तनाव झन् बढ्ने देखिएको छ। विश्वको धेरैजसो तेल आपूर्ति हुने यो बाटोमा लगाइएको नाकाबन्दीलाई निकै चासोका साथ हेरिएको छ।