३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

इरानमा अमेरिकी आक्रमण: ३८ को मृत्यु, ४०० भन्दा बढी घाइते

इरानमा अमेरिकी आक्रमण: ३८ को मृत्यु, ४०० भन्दा बढी घाइते

न्युयोर्क- इरानका विभिन्न प्रान्तमा अमेरिकाले गरेको आक्रमणमा ३८ जनाको ज्यान गएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा पुल, ऊर्जा केन्द्र र समुद्री नियन्त्रण टावर जस्ता नागरिक पूर्वाधारमा क्षति पुगेको बताएको छ।

होर्मोजगन, बुसेहर, सिस्तान र बलुचिस्तान, खुजेस्तान र लोरेस्तान लगायतका प्रान्तमा लगातार आक्रमण भएको हो। चाबहार बन्दरगाहमा रहेको समुद्री नियन्त्रण टावर पूर्ण रूपमा नष्ट भएको छ। अमेरिकी सेनाले यसलाई इरानी सेनाले निगरानीका लागि प्रयोग गरेको दाबी गर्दै नष्ट गरेको पुष्टि गरेको छ। इरानी अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरेर बन्दरगाह छिट्टै सञ्चालनमा ल्याउने बताए।

होर्मोजगन प्रान्तमा छ वटा पुल भत्किँदा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। त्यहाँ मात्रै सात जनाको मृत्यु र नौ जना घाइते भएको स्थानीय अधिकारीले बताए। यस्तै, बन्दर अब्बासको आवासीय क्षेत्रमा भएको आक्रमणमा एक जनाको ज्यान गएको छ भने रेलवे स्टेसनमा समेत क्षति पुगेको छ।

खुजेस्तानको अहवाज आसपास पनि अमेरिकी सेनाले आक्रमण गरेको छ। यसअघि त्यहाँको एक क्यान्सर अस्पताल खाली गराउनुपरेको इरानले जनाएको थियो। बुसेहर र लोरेस्तान प्रान्तमा पनि आक्रमणका घटना भएका छन्।

अमेरिकाले इरानको सैन्य क्षमता कमजोर बनाउन आक्रमण गरेको बताएको छ। तर, इरानले भने सर्वसाधारण नागरिकका संरचनालाई निशाना बनाएको आरोप लगाएको छ। यसैको बदलामा इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी अखडाहरूमा जवाफी हमला गरेको घोषणा गरेको छ।