भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५ हजार नाघ्यो, पुनर्निर्माणका लागि आइएमएफको सहयोग
- ०२ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ५ हजार नाघेको छ। भत्किएका संरचनाको पुनर्निर्माण गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको अधिकारीहरूले बताएका छन्।
गत जुन २४ मा एक मिनेटको फरकमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकास नजिकैको तटीय राज्य ला गुआइरा सबैभन्दा धेरै प्रभावित भएको थियो। नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परेर अहिलेसम्म ५ हजार ६९ जनाको मृत्यु भएको छ। यस्तै १६ हजार ७४० जना घाइते भएका छन्। धेरैजसो घाइतेहरू भने उपचारपछि अस्पतालबाट घर फर्किसकेका छन्।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज र आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले रकम प्राप्त भएको पुष्टि गरे। भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन भएका छन्। उनीहरू अहिले खानेपानी र सरसफाइको अभाव झेलिरहेका अस्थायी शिविरमा बसिरहेका छन्।
यसै वर्षको जनवरीमा निकोलस मादुरो सत्ताबाट हटेपछि अप्रिलदेखि आइएमएफ र विश्व बैंकले भेनेजुएलासँगको सम्बन्ध फेरि सुरु गरेका हुन्। सन् २०१९ देखि यी संस्थासँगको सम्बन्ध टुटेको थियो। यसअघि मादुरोलाई राष्ट्रपति नमान्दा आइएमएफमा रहेको भेनेजुएलाको आफ्नै कोषको रकम प्रयोगमा पनि रोक लगाइएको थियो।