क्यानाडाको डढेलोका कारण अमेरिकामा वायु प्रदूषण, ट्रम्पद्वारा नयाँ भन्सार शुल्क लगाउने चेतावनी
- ०२ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- क्यानाडामा लागेको भीषण डढेलोको बाक्लो धुवाँका कारण अमेरिकी सहरहरूमा प्रदूषण बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। ट्रम्पले क्यानाडाको ‘लापरबाही’ का कारण अमेरिकामा प्रदूषित र अस्वस्थकर हावा भित्रिएको आरोप लगाएका हुन्।
उनले यस विषयमा स्पष्टीकरण माग्न क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई फोन गर्ने बताए। यता क्यानाडाका प्रधानमन्त्री कार्नीले जलवायु परिवर्तन कसैको एक्लो नभई सबैको साझा जिम्मेवारी भएको बताए। ओन्टारियो प्रान्तका मुख्यमन्त्री डग फोर्डले भने अमेरिकालाई गुनासो गर्नुको साटो डढेलो निभाउन सहयोग पठाउन आग्रह गरे। उनले क्यानाडाले विगतमा अमेरिकालाई संकटको समयमा सधैँ सहयोग गरेको सम्झाए।
हाल क्यानाडामा ८०० भन्दा बढी ठाउँमा डढेलो लागिरहेको छ, जसमध्ये धेरै नियन्त्रण बाहिर छ। डढेलोको बाक्लो धुवाँका कारण अमेरिकाका डेट्रोइट, सिकागो र न्युयोर्क लगायतका सहरको हावा अत्यधिक प्रदूषित भएको छ। यसले गर्दा अमेरिकामा धेरै बाहिरी कार्यक्रमहरू रद्द गरिएका छन् भने हवाई उडानमा समेत असर परेको छ। न्यू जर्सीमा हुन लागेको विश्वकप फुटबलको फाइनल खेल समेत प्रभावित हुन सक्ने चिन्ता बढेको छ। डढेलोका कारण क्यानाडाका केही आदिवासी बस्तीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने हजारौँ मानिस सुरक्षित ठाउँमा सरेका छन्।