३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

अमेरिकाद्वारा इरानमा लगातार सातौँ रात आक्रमण, मध्यपूर्वमा तनाव बढ्यो

अमेरिकाद्वारा इरानमा लगातार सातौँ रात आक्रमण, मध्यपूर्वमा तनाव बढ्यो

न्युयोर्क- अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता ‘अन्त्य’ भएको घोषणा गरेयता अमेरिकाले इरानमा लगातार हमला गरिरहेको हो।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले लडाकु विमान, ड्रोन र युद्धपोतको प्रयोग गरी इरानका निगरानी केन्द्र, सैन्य बन्दोबस्तीका पूर्वाधार, भूमिगत हतियार भण्डार र समुद्री क्षमतालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इरानको मध्य सहर याज्द, कुसेम टापु र होर्मुज जलडमरु नजिकैको बन्दर अब्बासमा विस्फोटका आवाज सुनिएका छन्। होर्मोजगन प्रान्तका अधिकारीहरूले अमेरिकी आक्रमणमा सात जनाको मृत्यु भएको र पुललगायतका नागरिक पूर्वाधारमा क्षति पुगेको बताएका छन्। तर, ह्वाइट हाउसले भने सैन्य अखडामा मात्र आक्रमण गरिएको दाबी गरेको छ।

यता, इरानले पनि अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै जवाफी हमला गरेको छ। इरानले कुवेत, बहराइन, जोर्डन र सिरियाका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको दाबी गरे पनि अमेरिकाले सिरियामा आक्रमण नभएको बताएको छ। कुवेती अधिकारीहरूले इरानी ड्रोन आक्रमणबाट आफ्ना केही सैनिक घाइते भएको र विद्युत् तथा खानेपानी प्रशोधन केन्द्रमा क्षति पुगेको जानकारी दिएका छन्। त्यस्तै, जोर्डनको सेनाले आफ्नो आकाशमा आएका १० वटा इरानी क्षेप्यास्त्रलाई नष्ट गरेको जनाएको छ।

यसैबीच, इरानको सरकारी समाचार संस्थाले होर्मुज जलडमरु नजिकै दुईवटा तेल ट्याङ्कर विष्फोट भई आगलागी भएको दाबी गरे पनि अमेरिकाले त्यसलाई झुटो भनेको छ। लगातारको यो आक्रमणका कारण विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने महत्त्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलडमरुमा पानीजहाजको आवागमन लगभग ठप्प भएको छ।