३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

क्यानाडाको डढेलोले अमेरिकाका सहरमा प्रदूषण, १० करोडभन्दा बढी मानिस प्रभावित

क्यानाडाको डढेलोले अमेरिकाका सहरमा प्रदूषण, १० करोडभन्दा बढी मानिस प्रभावित

न्युयोर्क- क्यानाडाको जङ्गलमा लागेको डढेलोको बाक्लो धुवाँका कारण अमेरिकाका विभिन्न सहरको वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। यसबाट अमेरिकाका १८ राज्यका १० करोडभन्दा बढी मानिस प्रभावित भएका छन्।

डढेलोको धुवाँ दक्षिणतर्फ फैलिँदा सिकागो, डेट्रोइट र राजधानी वासिङ्टन डीसी लगायतका क्षेत्रमा हावा अत्यधिक अस्वस्थकर बनेको छ। सिकागोको इतिहासमै यो सबैभन्दा खराब वायु प्रदूषण भएको अधिकारीहरूले बताए। प्रदूषण बढेपछि धेरै खेलकुद र सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएका छन् भने कतिपय मनोरञ्जन पार्कहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्कनै परे विशेष मास्क प्रयोग गर्न भनिएको छ।

क्यानाडामा यो वर्ष ३ हजार ५०० भन्दा बढी ठाउँमा डढेलो लाग्दा ६० लाख एकडभन्दा बढी जमिन जलिसकेको छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो गर्मी र खडेरीले डढेलो तीव्र रूपमा फैलिरहेको हो। मौसमविद्हरूका अनुसार शनिबार आउने वर्षा र तीव्र हावाका कारण धुवाँ बिस्तारै कम हुँदै जाने र वायु प्रदूषणमा केही सुधार आउने छ।