नेतान्याहु न्युयोर्क आए पक्राउ पर्न सक्ने, मेयर माम्दानीले दिए संकेत
- ०३ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क सहरका मेयर जोहरान माम्दानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु न्युयोर्क आए पक्राउ गर्न सक्ने संकेत दिएका छन्। सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा नेतान्याहु आएमा उनलाई पक्राउ गर्ने सम्भावनालाई मेयरले नकारेका छैनन्।
एउटा अन्तर्वार्तामा माम्दानीले नेतान्याहु अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) द्वारा आरोपित युद्ध अपराधी भएको र उनी हेगमा हुनुपर्ने बताए। उनले न्युयोर्कको कानुन पालना गर्ने भन्दै यस विषयमा नगरको कानुनी विभागसँग छलफल भइरहेको जानकारी दिए।
तर, पूर्व वकिलहरूले भने आईसीसीको पुर्जीको आधारमा नेतान्याहुलाई पक्राउ गर्न खोजे मेयर वा प्रहरी अधिकारीहरू आफैं कानुनी फन्दामा पर्न सक्ने चेतावनी दिएका छन्। यसो गर्दा अमेरिकी संघीय कानुनको उल्लंघन हुने उनीहरूको भनाइ छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्जले पनि मेयरको भनाइको विरोध गरे। उनले अमेरिका आईसीसीको सदस्य नभएको, राष्ट्रप्रमुखलाई कूटनीतिक छुट हुने र स्थानीय मेयरको चाहनाभन्दा संघीय अधिकार माथि हुने भन्दै पक्राउ गर्न असम्भव रहेको बताए।
चुनावअघि पनि माम्दानीले नेतान्याहु न्युयोर्क आए युद्ध अपराधको आरोपमा पक्राउ गर्ने वाचा गरेका थिए। यता इजरायलले भने आफूमाथि लागेको युद्ध अपराधको आरोप अस्वीकार गर्दै आएको छ।