मेक्सिकन ‘ड्रग लर्ड’ जाम्बाडालाई आजीवन कारावासको सजाय
- ०५ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकाको ब्रुकलिन अदालतले मेक्सिकन लागूऔषध तस्कर तथा सिनालोआ कार्टेलका सह-संस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडालाई सोमबार आजीवन कारावासको सजाय सुनाएको छ। ७६ वर्षीय जाम्बाडाले आफूले गरेको अपराध र पुर्याएको क्षतिका लागि अदालतमा माफी माग्दै अब यस्तो हिंसा अन्त्य हुनुपर्ने बताए।
जाम्बाडाले तीन दशकभन्दा बढी समयदेखि हत्या, अपहरण र हिंसात्मक काम गरे। उनले आफ्नै भतिजाको हत्या गर्न समेत आदेश दिएका थिए। अमेरिकामा लाखौं मानिसको ज्यान लिने कोकिन र फेन्टानिल जस्ता लागूऔषध पठाउन उनको मुख्य भूमिका थियो।
सन् २०२४ मा मेक्सिकोमा अपहरणमा परेपछि उनी अमेरिकाको टेक्सास पुगेका थिए, जहाँ उनलाई पक्राउ गरिएको थियो। गत वर्ष उनले आफ्नो अपराध स्वीकार गरेका थिए। उनलाई १५ अर्ब डलर जरिवाना पनि तोकिएको छ, तर अधिकारीहरुले त्यो रकम अहिलेसम्म फेला पार्न सकेका छैनन्।
जाम्बाडाको स्वास्थ्य अवस्था कमजोर भएको र उमेरलाई समेत ध्यानमा राख्दै न्यायाधीश ब्रायन एम कोगनले उनलाई अस्पतालको सुविधा भएको जेलमा राख्न सिफारिस गरेका छन्। अदालतमा बोल्दै जाम्बाडाले नयाँ पुस्तालाई अपराधको बाटो छाडेर सही बाटो रोज्न आग्रह गरे।