२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

अमेरिकाबाट लेबनान सिधा उडान सुचारु गर्न ट्रम्पको निर्देशन

अमेरिकाबाट लेबनान सिधा उडान सुचारु गर्न ट्रम्पको निर्देशन

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सबै एयरलाइन्सलाई लेबनानमा सिधा उडान सुचारु गर्न निर्देशन दिएका छन्। मंगलबार ह्वाइट हाउसमा लेबनानका राष्ट्रपति जोसेफ आउनसँगको भेटपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले लेबनानका राष्ट्रपतिले आफ्नो देश परिवर्तन गर्न उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे। सिधा उडान सुरु भएपछि अमेरिकी नागरिकलाई लेबनान भ्रमण गर्न निकै सहज हुने उनले बताए। अन्य देशहरूले पनि यस्तै कदम चाल्ने उनले आशा व्यक्त गरेका छन्।

भेटमा ट्रम्पले लेबनानलाई अमेरिकाले धेरै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। लेबनान र इजरायलबीच महिनौंदेखि चलिरहेको कूटनीतिक वार्तापछि यो नयाँ निर्णय लिइएको हो। मध्यपूर्वमा हेज्बोल्लाहको प्रभाव कम गर्न र शान्ति कायम गर्न अमेरिकाले यो कदम चालेको हो। अमेरिकी यातायात मन्त्री सन डफीले पनि राष्ट्रपतिको यो घोषणाको समर्थन गरेका छन्।