वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ
- ०६ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- राम्रो कमाइ हुने भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तुको शिवराजकी कविता बेल्वासे छन्।
प्रदीपकुमारले एक जनालाई कम्बोडिया पठाइदिने भन्दै ४ लाख रुपैयाँ र कविताले अर्को एक व्यक्तिलाई युएई पठाइदिने भन्दै १ लाख ८ हजार रुपैयाँ लिएर फरार भएका थिए। पैसा लिएर उनीहरू सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूको खोजतलास गरी काठमाडौँबाटै पक्राउ गरेका हुन्। अहिले उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले बताए।