विद्यार्थी आन्दोलनमा प्रहरी दमन: राहुल गान्धीद्वारा प्रधानमन्त्री मोदीको राजीनामा माग
- ०६ साउन २०८३
- १ मिनेटको पढाई
नयाँदिल्ली- भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले विद्यार्थी आन्दोलनमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन्। शिक्षा प्रणाली सुधारको माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि गान्धीले यस्तो माग गरेका हुन्।
मङ्गलबार प्रधानमन्त्री निवास नजिकै विपक्षी सांसदहरूसँग प्रदर्शन गर्दै उनले प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको बताए। सरकारले यस विषयमा कुनै जवाफदेहिता नलिएको र संसद्मा बहस गर्नसमेत तयार नरहेको उनले आरोप लगाए।
सोमबार नयाँ दिल्लीको जन्तर-मन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ६० जना प्रदर्शनकारी र ११८ जना प्रहरी घाइते भएका थिए। ‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक अभियानको आह्वानमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौँ विद्यार्थी सडकमा उत्रिएका हुन्।
भारतमा मेडिकल लगायतका प्रतिस्पर्धात्मक परीक्षाका प्रश्नपत्र चुहावट र अनियमितता बढेपछि यो आन्दोलन चर्किएको हो। विपक्षी दलहरूले विद्यार्थीमाथि भएको दमनबारे संसद्मा छलफलको माग गरेपछि मङ्गलबार भारतीय संसद् बैठकसमेत अवरुद्ध भएको छ।