अमेरिकी करप्रति क्यानाडाको कडा आपत्ति: जवाफी कदम चाल्ने चेतावनी
- ०६ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानाडाली वस्तुहरूमा अतिरिक्त ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले कडा आपत्ति जनाएका छन्। ट्रम्पको यो कदम क्यानाडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौता (सियुएसएमए) को उल्लङ्घन भएको उनले बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्नीले अमेरिकाको यो एकपक्षीय निर्णयले स्वतन्त्र व्यापारको मूल मर्मलाई कमजोर बनाएको बताए। विशेषगरी अटोमोबाइल, डेरी र पेय पदार्थमा लगाइएको अतिरिक्त शुल्क सम्झौताविपरीत रहेको भन्दै उनले आफ्ना श्रमिक, किसान र व्यवसायीको हित रक्षाका लागि क्यानाडाले पनि सोही अनुपातमा जवाफी कदम चाल्ने स्पष्ट पारेका छन्।
अमेरिकी निर्णयले उल्टै अमेरिकी उपभोक्ताहरूलाई नै बढी मार पर्ने उनको दाबी छ। क्यानाडा निष्पक्ष र नियममा आधारित व्यापारको पक्षमा रहेको र देखिएका विवाद समाधानका लागि अमेरिकासँग रचनात्मक वार्ता गर्न सधैँ तयार रहेको उनले बताएका छन्।
अमेरिकी प्रशासनले सोमबार डेरी, पेय पदार्थ र गाडी आयातमा क्यानाडाले विभेद गरेको आरोप लगाउँदै ५० प्रतिशत भन्सार शुल्क बढाउने घोषणा गरेको थियो। यो नयाँ निर्णय राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको ३० दिनपछि पूर्ण रूपमा लागू हुनेछ।