भारतमा शिक्षामन्त्रीको राजीनामा माग्दै आन्दोलन जारी, माग पूरा नभएसम्म नरोकिने घोषणा
- ०६ साउन २०८३
- १ मिनेटको पढाई
नयाँदिल्ली- भारतमा परीक्षा प्रणालीमा सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन जारी राखेका छन्। ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ।
नयाँदिल्लीको जन्तर-मन्तरमा सोमबार भएको प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा १७८ जना घाइते भएका थिए। प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट ६० जना प्रदर्शनकारी र ११८ जना प्रहरी घाइते भएका हुन्। सीजेपीका नेता आशुतोष रङ्काले शान्तिपूर्ण रूपमा मुद्दा उठाउन आएका विद्यार्थीमाथि प्रहरीले क्रूर दमन गरेको बताएका छन्।
सरकारी टोलीसँगको वार्तामा कुनै ठोस सहमति नजुटेपछि मङ्गलबार पनि सयौँ विद्यार्थीहरू धर्नामा बसेका छन्। भारतमा मेडिकल लगायतका विभिन्न सरकारी परीक्षामा बारम्बार हुने प्रश्नपत्र चुहावट र धाँधलीका कारण युवाहरू आक्रोशित बनेका हुन्।