६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने लहर, २० देशमा नयाँ नियमको तयारी

बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने लहर, २० देशमा नयाँ नियमको तयारी

न्युयोर्क- बालबालिकाको मानसिक स्वास्थ्य र सामाजिक सञ्जालको लतलाई लिएर चिन्ता बढेपछि विश्वभरका देशहरूले यसको प्रयोगमा कडाइ गर्न थालेका छन्। फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण रूपमा रोक लगाउने विधेयकमाथि मङ्गलबार मतदान गर्दैछ।

विश्वका करिब २० वटा देशले यस्तै कानुन लागू गर्ने तयारी गरिरहेका छन् भने पाँच वटा देशमा यो नियम लागू नै भइसकेको छ। अस्ट्रेलियाले सन् २०२५ को डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नपाउने नियम ल्याएको छ। इन्डोनेसिया र मलेसियाले पनि १६ वर्षमुनिका लागि यस्तै प्रतिबन्ध लगाएका छन् भने टर्की र युएईले १५ वर्षमुनिकालाई रोक लगाउँदैछन्।

फ्रान्सले आगामी सेप्टेम्बरदेखि यो कानुन लागू गर्ने लक्ष्य राखेको छ। त्यहाँकी डिजिटल मन्त्री आन ले हेनाफले यो कानुन लागू भए फ्रान्स युरोपमै ‘डिजिटल कानुनी उमेर’ तोक्ने पहिलो देश बन्ने बताइन्।

त्यसैगरी ब्राजिलमा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउँदा अभिभावकको खातासँग अनिवार्य जोड्नुपर्ने नियम अघि बढाइएको छ। चीनले सन् २०१९ देखि नै बालबालिकाको इन्टरनेट र अनलाइन गेम प्रयोगमा कडाइ गर्दै आएको छ। युरोपका अन्य देशहरू, बेलायत, क्यानाडा र भारतमा पनि बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने विषयमा कडा कानुन निर्माणको तयारी भइरहेको छ।