चीन र भारतसहित ६० देशमाथि अमेरिकाले लगायो नयाँ भन्सार शुल्क
- ०८ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले जबर्जस्ती श्रमबाट उत्पादन भएका सामान रोक्न पर्याप्त काम नगरेको आरोप लगाउँदै करिब ६० वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ। यो नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहनेछ।
नयाँ नियम शुक्रबारदेखि लागू हुने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले जानकारी दिए। यो निर्णयले चीन, भारत, पाकिस्तान, क्यानडा, जापान, बेलायत र युरोपेली संघसहितका देशलाई असर पार्नेछ। यी देशहरूबाट अमेरिका भित्रिने सामानले कुल आयातको ९९.४ प्रतिशत हिस्सा ओगट्छन्।
ह्वाइट हाउसका अनुसार जबर्जस्ती श्रमबाट उत्पादन भएका सामान रोक्न प्रतिबद्धता जनाउने र कडाइका साथ लागू गर्ने देशलाई १० प्रतिशत र प्रतिबद्धता नजनाउने देशलाई १२.५ प्रतिशत शुल्क तोकिएको छ। सर्वोच्च अदालतले यसअघि आपत्कालीन अधिकार प्रयोग गरेर लगाइएका भन्सार शुल्क अमान्य घोषित गरिदिएपछि ट्रम्प प्रशासनले ‘ट्रेड एक्ट १९७४’ को धारा ३०१ प्रयोग गरेर यो नयाँ कदम चालेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कदमले स्वदेशी उद्योग र श्रमिकको हित हुनुका साथै नयाँ रोजगारी सिर्जना हुने दाबी गरेका छन्। तर, अर्थशास्त्रीहरूले भने भन्सार शुल्क बढेपछि दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भई सर्वसाधारण उपभोक्ता मारमा पर्ने चेतावनी दिएका छन्।