कीर्तिमानी आरोही निर्मल पुर्जाको निधनमा एनआरएनए स्तब्ध
- १७ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्व कीर्तिमानी पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०५१ मिटर) मा पुर्जाको निधन भएको हो।
एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले अगस्ट १ मा एक विज्ञप्ति सार्वजनिक गर्दै यस दुःखद खबरले सिंगो गैरआवासीय नेपाली समुदाय स्तब्ध भएको बताए। पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालीको साहस र पहिचानलाई विश्वसामु चिनाएको भन्दै एनआरएनएले उनको दृढ संकल्प र योगदान सधैँ अमर रहने जनाएको छ।
यस अकल्पनीय घटनामा एलिट एक्सपेडका संस्थापक रहेका पुर्जासहित अन्य ६ जना नेपाली र ४ जना विदेशी आरोहीले पनि ज्यान गुमाएका छन्। एनआरएनएले पुर्जा र ज्यान गुमाउने सबै आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेको छ।