१८ साउन २०८३, सोमवार
3 August 2026, Monday

ग्रिसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किए, उद्धार कार्य जारी

ग्रिसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किए, उद्धार कार्य जारी

न्युयोर्क- ग्रिसको एथेन्स नजिकै डढेलो निभाउन खटिएका दुईवटा हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन्। आइतबार एथेन्सभन्दा पश्चिममा पर्ने पसाथा क्षेत्रमा आगलागी नियन्त्रण गर्ने क्रममा बेल (BELL) कम्पनीका दुई हेलिकोप्टर एकआपसमा ठोक्किएका हुन्। अग्नि नियन्त्रक विभागले भाडामा लिएका ती हेलिकोप्टरमा जम्मा चारजना चालक दलका सदस्य थिए।

यस दुर्घटनालगत्तै चालक दलका सदस्यहरूको खोजी तथा उद्धार कार्य सुरु गरिएको छ। टेलिभिजन फुटेजमा तीमध्ये एउटा हेलिकोप्टर विस्फोट भएर आगोको मुस्लोसहित भुइँमा खसेको देखिएको छ। सरकारी प्रसारक संस्था ‘इआरटी’ का अनुसार एक जना सुरक्षित अवस्थामा फेला परेका छन् भने अरूको खोजी भइरहेको छ। दुवै हेलिकोप्टरले एथेन्सको एलेप्सिना सैन्य विमानस्थलबाट उडान भरेका थिए।

पछिल्लो समय ग्रिसले ठूलो डढेलोको सामना गरिरहेको छ। प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले हावाहुरीका कारण आगो निभाउने विमानहरूलाई काम गर्न गाह्रो भइरहेको बताएका छन्। त्यहाँ प्रतिघण्टा १०० किलोमिटरको गतिमा हावा चलिरहेको छ।

अहिले एथेन्सबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा रहेको तटीय गाउँ पोर्टो जर्मेनो आसपासमा लागेको आगो नियन्त्रण गर्न करिब ५०० अग्निनियन्त्रक खटिएका छन्। फ्रान्स र रोमानियाबाट पनि थप सहयोग आइपुगेको छ। डढेलोका कारण हजारौँ हेक्टर जमिन जलेर नष्ट भएको छ भने धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।