ट्रम्पले रोके इरानमाथिको आक्रमण, तर वार्ताको दाबी इरानले गर्यो अस्वीकार
- १८ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार र युएई जस्ता सहयोगी देशहरूको आग्रहपछि इरानमाथि गर्न लागेको नयाँ आक्रमण तत्काललाई रोकेका छन्। साउदीका राजकुमार मोहम्मद बिन सलमान लगायतका नेताहरूसँगको छलफलपछि ट्रम्पले शुक्रबारका लागि तय गरिएको ‘ठूलो आक्रमण’को योजना रद्द गरेको बताए।ट्रम्पले सोमबारदेखि इरानसँग वार्ता सुरु हुने र होर्मुज जलडमरूमध्य खोल्ने विषयमा छिट्टै सम्झौता हुने दाबी गरेका थिए। तर, इरानले भने ट्रम्पको यो भनाइलाई सीधै अस्वीकार गरेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार अमेरिकासँग अहिले कुनै पनि वार्ता नभइरहेको स्पष्ट पारे। उनले होर्मुज जलडमरूमध्यको व्यवस्थापन र सुरक्षाका लागि आफूहरूले ओमानसँग मात्र कुराकानी गरिरहेको बताए।
त्यसैगरी, इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न-ए-रेजाले अमेरिकाको जुनसुकै धम्कीलाई आफूहरूले गम्भीर रूपमा लिने र इरानी सेना सधैँ सतर्क अवस्थामा रहेको बताएका छन्।