इरानसँग वार्ता भइरहेको ट्रम्पको खुलासा, सम्झौता गर्ने ‘अन्तिम मौका’
- १९ साउन २०८३
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको खुलासा गर्दै यो सम्झौता गर्ने इरानका लागि ‘अन्तिम मौका’ भएको बताएका छन्। ह्वाइट हाउसमा उनले यस्तो टिप्पणी गरेका हुन्। ट्रम्पका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारको समर्थनमा इरानकै अनुरोधमा यो वार्ता अघि बढेको हो। उनले इरानलाई राम्रो सम्झौतामा हस्ताक्षर गर्न चेतावनी समेत दिए।
वार्ताबारे प्रष्ट पार्दै ट्रम्पले भने, ‘हामी अहिले वार्ता गरिरहेका छौँ। यो दुई चरणमा हुनेछ।’ पहिलो चरणमा हर्मुज जलसन्धि पूर्ण रूपमा खुला गर्ने विषयमा छलफल भइरहेको र त्यो छिटै टुङ्गिने उनले बताए। दोस्रो चरणमा इरानको परमाणु हतियार हटाउने बारेमा कुराकानी हुने उनको भनाइ छ। इरानको परमाणु क्षमता अन्त्य हुनुपर्नेमा उनले जोड दिए।
यसअघि ट्रम्पले इरानी नेताहरूले एकातिर वार्ताको अनुरोध गर्ने र अर्कोतिर अमेरिकासँग संवाद नभएको भन्दै दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए। यता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने अमेरिकासँग कुनै पनि वार्ता नभएको दाबी गरेका छन्। उनले इरान अहिले हर्मुज जलसन्धिका विषयमा ओमानसँग मात्र वार्तामा रहेको स्पष्ट पारे।