२० साउन २०८३, बुधबार
5 August 2026, Wednesday

गाजामा सन् २०२३ को आक्रमणमा मारिएका ११२ जनाको सामूहिक अन्त्येष्टि

गाजामा सन् २०२३ को आक्रमणमा मारिएका ११२ जनाको सामूहिक अन्त्येष्टि

न्युयोर्क- गाजा सिटीमा मंगलबार प्यालेस्टिनीहरूले सन् २०२३ मा भएको इजरायली आक्रमणमा ज्यान गुमाएका ११२ जनाको सामूहिक अन्त्येष्टि गरेका छन्। गाजाको सब्रा क्षेत्रमा २२ नोभेम्बर २०२३ मा भएको हवाई आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएका थिए।

भग्नावशेषमा पुरिएका शवहरू निकाल्ने क्रममा गत सप्ताहन्तमा ४० बालबालिकासहित ११२ जनाको शव फेला परेको हो। अझै १५७ जनाको शव भेटिन बाँकी रहेको उद्धारकर्ताहरूले बताए। मृतकका एक आफन्तले उनीहरू आफ्नो घरमै सुरक्षित भइन्छ भन्ने विश्वासमा त्यहीँ बसेको बताए।

अक्टोबरमा लागू भएको युद्धविरामपछि मात्रै भग्नावशेषबाट शव निकाल्ने काम अघि बढेको हो। युद्धमा हालसम्म ७३ हजार ३७७ भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ भने हजारौँ मानिस अझै बेपत्ता छन्। युद्धविराम लागू भएयता पनि गाजामा १ हजार २५२ जनाको मृत्यु भइसकेको छ।

हालसालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा इजरायली सैन्य कारबाही र हमासको गतिविधि रोक्ने सम्झौताको घोषणा गरेका थिए। यद्यपि, इजरायलले यसमा सुरक्षा चिन्ता व्यक्त गरेको छ। गाजा पुनर्निर्माण र हतियार बिसाउने विषयमा शान्ति बोर्डका अधिकारीहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल गरेका छन्।