२० साउन २०८३, बुधबार
5 August 2026, Wednesday

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो र राति देशभर सामान्यतया बादल लाग्नेछ। अहिले पनि बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै कोशी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो र राति देशका पहाडी तथा तराईका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा भने मध्यम वर्षासँगै हिमपात पनि हुनसक्छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।