अमेरिकी क्रिकेटर हरमितले जनकपुर बोल्ट्सको कप्तानी गर्ने
- २३ साउन २०८३
- १ मिनेटको पढाई
न्यूयोर्क : अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्। जनकपुर बोल्ट्सले शनिबार आफ्नो सामाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको छ।
बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठूलो भूमिका खेलेका थिए। पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको छ।
अनिल साहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो। दोस्रो सिजनमा अनिलसँगैं दक्षिण अफ्रिकाका वायन पार्नेल र नामिबियाका जान निकोल लफ्टी इटनले जनकपुरको कप्तानी गरेका थिए।
हरमितले पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सबाट खेल्दै ८ विकेट लिनुका साथै ५ खेलमा २८ रन बनाएका थिए। दोस्रो सिजनमा पनि उनले सुदूरपश्चिम रोयल्सबाट नै खेलेका थिए। उनले १६६ माथिको स्ट्राइक रेटमा ९ खेलमा १ सय ३३ रन बनाएका थिए भने ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए। हरमितले अमेरिकाबाट २९ वानडे अन्तर्राष्ट्रिय खेलमा ३९ विकेट र २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन्।
‘हरेक सफल टोलीको आधार केवल उत्कृष्ट खेलाडीमात्र होइन, सशक्त नेतृत्व पनि हो। नयाँ सिजनसँगैं जनकपुर बोल्ट्सले नयाँ उर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढ्ने तयारी गरिरहेको छ। यही यात्राको नेतृत्व गर्ने जिम्मेवारी हामीले हरमित सिंहलाई सुम्पिएका छौं। हरमितले आफ्नो उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगैं मैदानभित्र र बाहिर देखाएको अनुशासन, परिपक्वता र टोली प्रतिको प्रतिबद्धताले उनलाई यो भूमिकाका लागि स्वभाविक छनोट बनाएको हो। उनी जनकपुर बोल्ट्सले आत्मसात गरेको संघर्ष, एकता र कहिल्यै हार नमान्ने भावनाको सशक्त प्रतिनिधित्व गर्छन्।’ जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भने।