ट्रम्पको १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै नेतान्याहु: हमासले हतियार नबिसाएसम्म सेना फिर्ता नहुने
- २४ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति प्रस्तावलाई अस्वीकार गरेका छन्। आइतबार मन्त्रिपरिषद्को बैठकमा बोल्दै उनले हमासले साँचो अर्थमा हतियार नबुझाएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका हुन्।
गत महिना ट्रम्पको ‘शान्ति बोर्ड’ले गाजामा शान्ति कायम गर्न र हमास लगायतका सशस्त्र समूहलाई निःशस्त्र बनाउन एउटा सम्झौता भएको घोषणा गरेको थियो। तर, नेतान्याहुले हमासको नि:शस्त्रीकरण देखावटी मात्र नभई वास्तविक हुनुपर्ने अडान राखेका छन्। उनले साना र ठूला सबै प्रकारका हतियार हमासले बुझाउनुपर्ने बताए।
यता हमासले भने इजरायलले सबै खाले आक्रमण रोकेपछि र गाजाबाट आफ्ना सेना फिर्ता लगेपछि मात्र भारी हतियार बुझाउने सर्त राखेको छ। गत अक्टोबरमा सुरुवाती युद्धविरामको सहमति भए पनि इजरायलले गाजामा लगातार आक्रमण जारी राखेको छ।
इजरायलमा निर्वाचन नजिकिँदै गर्दा नेतान्याहुमाथि उनका चरमपन्थी गठबन्धनका नेताहरूले पनि उक्त अमेरिकी प्रस्ताव नमान्न दबाब दिइरहेका छन्। नेतान्याहुले अहिले यस विषयमा अमेरिकी अधिकारीहरूसँग कुराकानी भइरहेको र आफूहरूलाई मान्य हुने र नहुने कुरामा इजरायल प्रस्ट रहेको बताएका छन्।