फ्रान्समा भीषण डढेलो फैलाएको आरोपमा ४२० जना पक्राउ
- २४ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- फ्रान्समा यस वर्ष दोस्रो विश्वयुद्धपछिकै भीषण डढेलो लागेको छ। ३ लाख एकडभन्दा बढी जंगल डढिसकेको यो अवस्थामा फ्रान्सेली गृह मन्त्रालयले आगो लगाएको र लापरबाही गरेको आरोपमा ४२० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १६६ जना नाबालकसमेत छन्।
जलवायु परिवर्तनका कारण बढेको खडेरी र अत्यधिक गर्मीलाई डढेलोको प्रमुख कारण मानिए पनि फ्रान्समा ९० प्रतिशत डढेलो मानिसकै कारण सुरु हुने गरेको छ। जानीजानी आगो लगाउने, चुरोटका ठुटा फाल्ने वा आउटडोर पकाउँदा लापरबाही गर्दा साना झिल्काबाट भीषण डढेलो फैलिएको प्रहरीको भनाइ छ।
प्रहरीले कडा कदम चाल्दै केहीलाई जेल सजायसमेत गराउन थालेको छ। तर, केही वकिल तथा विश्लेषकहरूले भने हतारमा धेरै मानिसलाई पक्राउ गरिएको भन्दै प्रहरीको आलोचना गरेका छन्। राष्ट्रपति इम्यानुएल म्याक्रोनले यो अवस्था अभूतपूर्व भएको भन्दै अहिले आलोचना गर्नुभन्दा सबै एकजुट भएर डढेलोको सामना गर्नुपर्ने बताएका छन्।