२५ साउन २०८३, सोमवार
10 August 2026, Monday

ग्यासको आयात बढेकाले घरमा सिलिन्डर नथुपार्न आग्रह

ग्यासको आयात बढेकाले घरमा सिलिन्डर नथुपार्न आग्रह

काठमाडौँ-  नेपाल ग्यास उद्योग सङ्घले खाना पकाउने ग्यासको आयात लगातार बढिरहेकाले घरमा अनावश्यक रूपमा ग्यास नथुपार्न उपभोक्तालाई आग्रह गरेको छ। भारतबाट सहज रूपमा ग्यास आइरहेको र उद्योगहरूले ग्यास भर्ने काम निरन्तर गरिरहेकाले चाहिनेभन्दा बढी नकिन्न सङ्घले भनेको हो।

सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले उपभोक्ताले थप ग्यास नकिन्ने हो भने अहिले बजारमा देखिएको अभाव तत्कालै समाधान हुने बताए। उनले आउँदा दिनमा पनि ग्यास आपूर्तिमा कुनै समस्या नहुने र अभाव नदेखिने प्रस्ट पारे।

नेपाल आयल निगमका अनुसार भारतका प्रशोधन केन्द्रहरूबाट ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ। पछिल्लो २२ दिनमै झन्डै ४० हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। यस आधारमा साउन महिनामा ५५ हजार मेट्रिक टन ग्यास आउने अनुमान गरिएको छ, जुन गत वर्षको यही समयको भन्दा धेरै हो। यस्तै, सङ्घले ग्यास बिक्रेताहरूलाई पनि घरायसी प्रयोग गर्ने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास बेच्न आग्रह गरेको छ।