दक्षिण अफ्रिकाबाट १ लाख ७८ हजारभन्दा बढी आप्रवासी देश छाड्न बाध्य: यस्तो छ कारण
- २४ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- पछिल्ला केही महिनामा दक्षिण अफ्रिकाबाट १ लाख ७८ हजारभन्दा बढी अफ्रिकी आप्रवासीले देश छाडेका छन्। सरकारले कागजातविहीन आप्रवासीमाथि गरेको कडाइ र आप्रवासी विरोधी हिंसात्मक प्रदर्शनका कारण उनीहरू आफ्नो देश फर्किन बाध्य भएका हुन्।
आप्रवासीले गर्दा बेरोजगारी बढेको र सार्वजनिक सेवामा दबाब परेको भन्दै त्यहाँ केही समयदेखि प्रदर्शन हुँदै आएको थियो। प्रदर्शनकारीले जुन ३० भित्र अवैध आप्रवासीलाई देश छाड्न चेतावनी दिएका थिए। आक्रमणको डरले अधिकांश आप्रवासी आफैं स्वदेश फर्किएका हुन् भने केहीलाई सरकारले देशनिकाला गरेको हो।
फर्किनेमा सबैभन्दा धेरै जिम्बाबेका १ लाख १५ हजार र मलावीका ५६ हजार नागरिक छन्। नाइजेरिया, घाना र मोजाम्बिकका नागरिक पनि फर्किएका छन्। दक्षिण अफ्रिकाले गत अप्रिलदेखि करिब १९ हजार जनालाई औपचारिक रूपमै देशनिकाला गरेको छ।
एक्कासि यति धेरै मानिसले देश छाड्दा हजारौं बालबालिकाको पढाइ बिग्रिएको र बिरामीले उपचार नपाएको भन्दै मानवअधिकार समूहले चिन्ता व्यक्त गरेका छन्।