आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव : राष्ट्रपति
- २४ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको बताएका छन्। ३२ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको बताउँदै उनले आदिवासी जनजातिलाई जल, जमिन र प्राकृतिक स्रोतसँग अटुट सम्बन्ध भएका ‘धर्तीपुत्र’ भने। राज्यको नीति निर्माण तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ। शिक्षामा पहुँच बढाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अहिले स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व ३६.८ प्रतिशत रहेको स्पष्ट पारे।
नेपालले आदिवासीको अधिकार सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय महासन्धि (आईएलओ १६९) अनुमोदन गरिसकेको भन्दै उनले संविधानमा व्यवस्था गरिएको आदिवासी जनजाति आयोगले उनीहरूको अधिकार, भाषा र संस्कृतिको रक्षा गरिरहेको बताए।
तराई–मधेशका आदिवासीको विकास र अधिकारबिना समृद्ध नेपाल सम्भव नहुने उनले बताए। लोकतन्त्रमा मात्रै सबै जातजाति तथा पिछडिएका समुदायको अधिकार सुनिश्चित हुने भन्दै उनले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान र सीपलाई आर्थिक उपार्जन र पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए।