२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

साउदीको तेल प्रशोधन केन्द्रमा हुथीको ड्रोन आक्रमण

साउदीको तेल प्रशोधन केन्द्रमा हुथीको ड्रोन आक्रमण

यमनका हुथी विद्रोहीले साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। साउदी अरबले उक्त केन्द्रमा लागेको आगो निभाएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको जिम्मा लिएको हो।

हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले साउदी ड्रोनहरू आफ्नो क्षेत्रमा घुसेकाले त्यसको जवाफमा यो कारबाही गरेको बताए। यता, साउदी अरबको ऊर्जा मन्त्रालयले आइतबार बिहान उक्त केन्द्रमा आगलागी भएको र सुरक्षा टोलीले आगो नियन्त्रणमा लिएको जनाएको छ। घटनामा कोही पनि घाइते नभएको बताइए पनि साउदीले आगलागीको कारण भने खुलाएको छैन।

हुथी विद्रोहीले गत जुलाइमा पनि यही केन्द्रलाई लक्षित गरेको दाबी गरेका थिए। साउदी अरब एक दशकभन्दा बढी समयदेखि यमनको गृहयुद्धमा संलग्न हुँदै आएको छ। सन् २०२२ को युद्धविरामपछि केही शान्त रहेको यस क्षेत्रमा पछिल्लो समय फेरि तनाव बढेको छ। राजधानी सानासहित यमनको ठूलो भूभाग कब्जा गरेका हुथी विद्रोहीले लालसागरमा चल्ने जहाज र साउदीका तेल संरचनालाई निसाना बनाउँदै आएका छन्।