इन्डोनेसियामा भीषण डढेलो: ब्रोमो राष्ट्रिय निकुञ्ज पर्यटकका लागि बन्द
- २४ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- इन्डोनेसियाको पूर्वी जाभास्थित ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा डढेलो फैलिएपछि पर्यटक प्रवेशमा रोक लगाइएको छ। करिब एक सातादेखि सुरु भएको डढेलोले अहिलेसम्म १७६ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीले डढेलोबाट अहिलेसम्म मानवीय र सम्पत्तिको क्षति नभएको बताए। भिरालो जमिन र तीव्र हावाका कारण भुइँबाट आगो निभाउन गाह्रो भएपछि दुईवटा हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रणको प्रयास भइरहेको उनले जानकारी दिए।
यसअघि सन् २०२३ मा पनि बिहे अघिको तस्बिर खिच्ने क्रममा बालिएको आगो फैलिँदा यस क्षेत्रमा ५०० हेक्टरभन्दा बढी जङ्गल नष्ट भएको थियो। यस वर्ष लामो खडेरीका कारण इन्डोनेसियामा डढेलोको जोखिम झनै बढेको छ। यो वर्षको पहिलो छ महिनामै एक लाख सात हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोको चपेटामा परिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो।