विश्व आदिवासी दिवस आज: अधिकार र पहिचान संरक्षणमा जोड
- २४ साउन २०८३
- १ मिनेटको पढाई
विश्वभर आज (अगस्ट ९) विविध कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र उनीहरूले भोगिरहेका समस्याबारे चेतना बढाउन यो दिवस मनाउने गरिन्छ।
सन् १९९४ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। राष्ट्रसंघका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका गरिबहरूमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी नै छन्।
विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये धेरैजसो भाषा आदिवासी समुदायले बोल्छन्। उनीहरूले ५ हजार फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्। आफ्नो छुट्टै पहिचान, पुर्ख्यौली भूमि र प्राकृतिक स्रोतसाधनको अधिकारका लागि उनीहरूले लामो समयदेखि संघर्ष गर्दै आएका छन्।
इतिहासदेखि नै अधिकार हनन हुँदै आएकाले आज पनि उनीहरू विश्वका पछाडि पारिएका र जोखिममा रहेका समुदायमा पर्छन्। उनीहरूको अधिकार संरक्षण, परम्परागत ज्ञानको जगेर्ना र राज्यको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन यो दिवसले विश्वभरका सरकार र समुदायलाई ध्यानाकर्षण गराएको छ।