२५ साउन २०८३, सोमवार
10 August 2026, Monday

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

काठमाडौं- निरन्तरको वर्षापछि गएको पहिरोले सोलुखुम्बुमा दुईवटा वडा कार्यालय उच्च जोखिममा परेका छन्। पहिरोकै कारण जिल्लाभर विभिन्न ठाउँबाट ११ परिवार विस्थापित भएका छन्।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको चपेटामा परेका हुन्। सोलुदूधकुण्ड–३ का वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले सडक विस्तार गर्दा खसेको पहिरोले वडा कार्यालयको शौचालय बगाएको र प्रशासनिक भवनसहित स्वास्थ्यचौकी जोखिममा परेको बताए।

त्यस्तै, सोताङ–४ का वडाध्यक्ष दीपबहादुर राईले पहिरोले वडा कार्यालयको पर्खाल बगाएको जानकारी दिए। पहिरोले भवन जुनसुकै बेला तान्न सक्ने र आसपासको बस्तीसमेत धरापमा परेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले लगातारको झरीले जिल्लाका अन्य सरकारी संरचनामा पनि सामान्य क्षति पुगेको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख नविनराजा बुढाथोकीका अनुसार पहिरोका कारण सोताङमा ५, थुलुङ दूधकोशी–९ मा ५ र लिखुपिके–३ मा १ गरी ११ परिवार विस्थापित भएका छन्। घर जोखिममा परेपछि उनीहरूलाई नजिकैको विद्यालय भवनमा सारिएको र कतिपयलाई पाल टाँगेर सुरक्षित स्थानमा राखिएको उनले बताए।

लगातारको वर्षाले ग्रामीण सडक र भिरालो बस्तीमा जोखिम झनै बढाएको भन्दै स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।