साउनको अन्तिम सोमबार: बोलबम यात्री सुन्दरीजलबाट पशुपतिनाथ जाँदै
- २५ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- साउन महिनाको अन्तिम सोमबार आज बोलबम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा भएका छन्। उनीहरू त्यहाँको वाग्मती नदीमा स्नान गरी शुद्ध कपडा लगाएर पशुपतिनाथ मन्दिरमा जल चढाउन जान्छन्।
बोलबम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायतका संस्थाले यो यात्राको आयोजना गरेका हुन्। प्रहरी प्रभाग सुन्दरीजलका प्रमुख नवीनविक्रम थापाले बोलबम यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएको बताए। भक्तजनहरू आइतबार राति १२ बजेसम्म भजनकीर्तन गरेर बस्छन् र त्यसपछि स्नान गरी खाली खुट्टा पशुपतिनाथसम्मको यात्रा तय गर्छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले बोलबम यात्रीलाई जल चढाउन बासुकी हुँदै उत्तरतर्फको ढोकाको व्यवस्था मिलाएको जानकारी दिए। उनका अनुसार साउनको अन्तिम सोमबार दर्शनार्थीको भीड हुने भएकाले सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ।