अमेरिका र क्यानडामा भीषण डढेलो: २० हजारभन्दा बढी विस्थापित, संकटकाल घोषणा
- २५ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिका र क्यानडाका पश्चिमी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण हजारौँ मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा डढेलो अनियन्त्रित भएपछि शनिबार संकटकाल घोषणा गरिएको छ।
ब्रिटिस कोलम्बियाको ओकानागान ताल आसपासका समरल्यान्ड र पिचल्यान्ड क्षेत्रबाट मात्रै २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ‘बाल्ड रेन्ज’ नाम दिइएको उक्त डढेलोका कारण कयौँ घरहरू जलेर नष्ट भएका छन्। आगो अत्यन्तै तीव्र गतिमा फैलिएको र अवस्था ‘बम पड्किएजस्तो’ डरलाग्दो रहेको अधिकारीहरूले बताएका छन्।
उता, अमेरिकाको वासिङ्टन राज्यका केही क्षेत्रमा पनि डढेलो फैलिएपछि स्थानीयलाई घर खाली गरेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। यसैबीच, अमेरिकाकै उटाह राज्यको जङ्गलमा लागेको आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ।
अहिले प्रभावित क्षेत्रहरूमा उद्धार र राहतको काम भइरहेको छ भने क्यानडाको सङ्घीय सरकारले पनि थप सहयोग उपलब्ध गराउने जनाएको छ।