२७ साउन २०८३, बुधबार
12 August 2026, Wednesday

इरानको धम्कीपछि ट्रम्पको गोप्य उडानः खाना बोक्ने ट्रकमा लुकेर विमान परिवर्तन

इरानको धम्कीपछि ट्रम्पको गोप्य उडानः खाना बोक्ने ट्रकमा लुकेर विमान परिवर्तन

न्युयोर्क- गत महिना इरानसँगको तनाव र सुरक्षा चुनौतीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निकै गोप्य रूपमा टर्कीबाट बाहिर निकालिएको खुलासा भएको छ। यसका लागि खाना बोक्ने ट्रकको प्रयोग गरेर उनलाई सुटुक्क अर्को विमानमा सारिएको थियो।

वासिङ्टन पोस्टको रिपोर्ट अनुसार, टर्कीको अङ्कारामा क्यामेरा अगाडि ट्रम्प सुरुमा पुरानो ‘एयर फोर्स वन’ विमानमा चढेका थिए। तर, उनी त्यहाँबाट खाना बोक्ने ट्रकमा लुकेर अर्को सानो सैन्य विमान ‘सी-३२’ मा पुगे। त्यही गोप्य विमानमार्फत उनी बेलायतको रोयल एयर फोर्स शिविरमा ओर्लिए। बेलायत पुगेपछि उनी फेरि कसैले नदेख्ने गरी पुरानै विमानमा चढे र क्यामेरासामु त्यही विमानबाट ओर्लिएको देखाए। त्यसपछि मात्र उनी कतारले दिएको नयाँ विमानमा चढेका थिए।

यस गोप्य अभियानका बेला पुरानो विमानमा रहेका पत्रकार र केही कर्मचारीलाई समेत ट्रम्प त्यहाँ नभएको पत्तो दिइएको थिएन। उडानका क्रममा पत्रकारहरूलाई विमानको झ्याल बन्द गर्न लगाइएको थियो। पछि पत्रकारहरूले झ्याल बन्द गर्न लगाएको विषयमा प्रश्न गर्दा ट्रम्पले आफू सधैं इरानको पहिलो निशानामा रहेको र खतराका कारण त्यसो गरिएको बताए।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चिउङले यस विषयलाई अस्वीकार गरेका छैनन्। उनले राष्ट्रपतिको सुरक्षाका लागि सबै विकल्प प्रयोग गरिने बताए। यसैबीच, सिनेटका अल्पसंख्यक नेता चक सुमर र सिनेटर रिचर्ड ब्लुमेन्थलले यो घटना डरलाग्दो भएको भन्दै संसदलाई यसको पूर्ण जानकारी गराउन माग गरेका छन्।

यसअघि सन् २००० मा पूर्व राष्ट्रपति बिल क्लिन्टनले पाकिस्तान भ्रमण गर्दा र सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि जर्ज डब्लु बुसले पनि यसैगरी झुक्याउने शैलीका उडान गरेका थिए। ट्रम्पले कतारले उपहार दिएको ४० करोड डलर पर्ने नयाँ विमानको सुरक्षा व्यवस्था पूर्ण नभएको भन्दै टर्कीबाट पुरानै विमान प्रयोग गर्ने निर्णय गरेका थिए।