खाडी र लाल सागरको तनाव वार्ताबाटै सुल्झाउन राष्ट्रसङ्घको आग्रह
- २८ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खाडी र लाल सागर क्षेत्रमा देखिएको तनाव वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेका छन्। संवादबाट मात्रै त्यस क्षेत्रमा शान्ति र आपसी विश्वास फर्काउन सकिने उनले बताए।
गुटेरेसका उपप्रवक्ता फरहान हकले महासचिवले मध्यपूर्वका घटनाक्रमलाई नजिकबाट हेरिरहेको बताए। गुटेरेसको ध्यान विशेषगरी हर्मुज जलघाँटी र लाल सागरको सुरक्षा तथा त्यहाँको समुद्री यातायातमा केन्द्रित छ।
विश्व व्यापारका लागि निकै महत्त्वपूर्ण मानिने यी समुद्री मार्गमा अवरोध हुँदा क्षेत्रीय द्वन्द्व अझै बढ्न सक्ने राष्ट्रसङ्घको चिन्ता छ। त्यसैले अन्तर्राष्ट्रिय समुद्री आवागमन स्वतन्त्र हुनुपर्नेमा गुटेरेसले जोड दिए।
यसैबीच, यमनमा पनि तनाव कम गर्न राष्ट्रसङ्घले पहल गरिरहेको छ। लाल सागर र आसपासका क्षेत्रमा जहाज चल्न नदिँदा युद्धको मारमा परेको यमनमा राहत र अत्यावश्यक सामग्री पठाउन समस्या हुने उपप्रवक्ता हकले प्रस्ट पारे। समुद्री सुरक्षा, व्यापार र मानवीय सहायतामा असर पर्न नदिन सबै पक्षलाई संयमित हुन राष्ट्रसङ्घले आग्रह गरेको छ।