काठमाडौँका पाँच स्थानबाट ग्यास वितरण, सास्ती भोगेका उपभोक्तालाई ठूलो राहत
- ३० साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौँ- ग्यासको अभाव झेल्दै आएका काठमाडौँका उपभोक्ताले आज ठूलो राहत महसुस गरेका छन्। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा उपत्यकाका पाँच स्थानबाट ग्यास वितरण सुरु भएपछि उपभोक्ताहरु खुसी भएका हुन्।
स्थानीय बिक्रेताले ग्यास दिन त परै जाओस्, नामसमेत टिप्न नमानेर हैरान भएका जडीबुटीकी तारा तामाङ र अनामनगरका रोजन मल्ल जस्ता धेरैले एकै ठाउँबाट ग्यास पाउँदा खुसी व्यक्त गरे। सार्वजनिक बिदाको दिन वितरणको व्यवस्था मिलाइएकोले विद्यार्थी र अन्य व्यस्त मानिसहरुलाई झनै सजिलो भएको उपभोक्ताले बताएका छन्। उनीहरुले आगामी दिनमा आफ्नै नजिकको बिक्रेताबाट ग्यास पाउने वातावरण मिलाउन सरकारलाई सुझाव समेत दिए।
आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय, टेकुस्थित निगम परिसर, चाबहिल यातायात कार्यालय, कीर्तिपुर राधास्वामी परिसर र बसुन्धरा राधास्वामी परिसरबाट विभिन्न कम्पनीका ग्यास वितरण भइरहेको जानकारी दिए। निगमका अधिकारीहरुका अनुसार ग्यास लिन सर्वसाधारणको ठूलो घुइँचो लागेको छ, तर लाइनमा आएका कसैलाई पनि रित्तो हात नफर्काउने गरी उद्योगीहरुसँग समन्वय गरेर वितरणलाई सहज बनाइएको छ।