प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको अपिल : ‘नेपालमा ढुक्कसँग लगानी गर्नुहाेस्’
- ३० साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्रशान्त सम्मेलनलाई भिडियो सन्देश पठाउँदै उनले यस्तो अपिल गरेका हुन्।
सरकारले लगानीको वातावरण बनाउन बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएको जानकारी दिँदै उनले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा र कृषि जस्ता क्षेत्रमा लगानी गर्न सुझाव दिए। अर्थमन्त्री वाग्लेले सरकारले देशमै रोजगारी सिर्जना गर्न विशेष ध्यान दिएको र कर प्रणालीमा समेत सुधार गरेको बताए।
देशलाई अहिले प्रवासीको ज्ञान र पुँजी चाहिएको उनको भनाइ छ। विदेशमा रहेका नेपालीको लगानी भित्र्याउन सरकारले धितोपत्र नियमावली संशोधन गरेर एनआरएन लगानी कोषको सेयर हिस्सा ८५ प्रतिशत पुर्याएको उनले जानकारी दिए। बन्द अवस्थामा रहेका पुराना उद्योग सञ्चालनमा ल्याउन पनि प्रवासी नेपालीले लगानी र सीप प्रयोग गर्न सक्ने उनले बताए।