समस्या आउँदा अरूलाई दोष देखाउने ट्रम्पको बानी : अमेरिकी राजनीतिमा जिम्मेवारीबाट भाग्ने आरोप
- ३० साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राजनीतिमा ‘सबै निर्णय र परिणामको जिम्मेवारी राष्ट्रपतिकै हुन्छ’ भन्ने पुरानो मान्यता रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हरेक समस्याको दोष अरूमाथि थोपर्ने गरेको भन्दै आलोचना बढेको छ। देशको कमजोर अर्थतन्त्र, चर्को महँगी, इरानसँगको लामो युद्ध र प्रशासनिक असफलताहरूमा ट्रम्पले आफूभन्दा अघिल्ला राष्ट्रपति र संसद्लाई दोष दिँदै आएका छन्।
अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्पको यस्तो प्रवृत्तिको चर्चा चुलिएको छ। पछिल्लो समय उनको आर्थिक नीतिको लोकप्रियता घटेर ३२ प्रतिशतमा झरेको छ। तर, ट्रम्पले महँगी र आर्थिक समस्याको सम्पूर्ण दोष पूर्वराष्ट्रपति जो बाइडेनमाथि लगाएका छन्। यस्तै, इरानसँग सुरु भएको युद्ध ६ महिनासम्म लम्बिएर विश्व बजारमा तेलको मूल्य बढ्दा पनि उनले विगतका राष्ट्रपतिहरूको कमजोरीका कारण यस्तो कदम चाल्नुपरेको दाबी गरेका छन्।
इतिहासकारहरूका अनुसार ह्यारी ट्रुम्यान, जोन एफ केनेडी र रोनाल्ड रेगन जस्ता पूर्वअमेरिकी राष्ट्रपतिहरूले आफ्ना गल्ती र असफलताको जिम्मेवारी आफैँ लिने गर्थे। तर, ट्रम्प भने सफलताको जस आफैँ लिने र काम बिग्रेपछि जिम्मेवारीबाट पन्छिने गरेको आरोप विश्लेषकहरूले लगाएका छन्। उता ह्वाइट हाउसले भने ट्रम्पले विगतका सरकारले बिगारेका समस्या सुल्झाउँदै जनताको हितमा कर कटौती र सीमा सुरक्षा जस्ता काम गरिरहेको दाबी गरेको छ।