उपचारमा एकरुपता ल्याउन स्वास्थ्य बीमासँग मानक उपचार प्रोटोकल जोड्ने तयारी
- ३० साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउन मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमासँग जोड्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ। शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा यस विषयमा कुराकानी भएको हो।
छलफलमा स्वास्थ्य मन्त्रालय अन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा. पवनजंग रायमाझीसहित १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरु सहभागी थिए। उनीहरुले हाल प्रयोग भइरहेको प्रोटोकलका व्यावहारिक कठिनाइ औंल्याउँदै फरक-फरक विभागले बनाउने प्रोटोकलमा समन्वयको अभाव रहेको बताए।
डा. रायमाझीका अनुसार हालसम्म आवश्यकता हेरी १९ वटा प्रोटोकल बनाइएका छन्, जसमध्ये केही लागू भइसकेका छन् भने केही प्रक्रियामा छन्। उनले अनावश्यक सीटी स्क्यान र एमआरआई जस्ता महँगा परीक्षणले स्वास्थ्य बीमामा आर्थिक भार थपेको भन्दै आवश्यकताका आधारमा मात्र परीक्षण गर्ने व्यवस्था प्रोटोकलमै तोकिनुपर्नेमा जोड दिए।
प्रोटोकलको परिमार्जन र प्रभावकारी प्रयोगले अनावश्यक परीक्षण र महँगा औषधि कटौती हुने अपेक्षा गरिएको छ। यसबाट बिरामीको उपचार खर्च घट्नुका साथै सरकारी कोषको दुरुपयोग रोकिने र स्वास्थ्य बीमा कार्यक्रम थप व्यवस्थित हुने विश्वास लिइएको छ।