१ भदौ २०८३, सोमवार
17 August 2026, Monday

इन्डोनेसिया भूकम्प: ५१ को मृत्यु, ३४१ परकम्प जाँदा हजारौँ विस्थापित

इन्डोनेसिया भूकम्प: ५१ को मृत्यु, ३४१ परकम्प जाँदा हजारौँ विस्थापित

न्युयोर्क- पूर्वी इन्डोनेसियामा शनिबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर ५१ जनाको ज्यान गएको छ। भूकम्पपछि ३४१ वटा परकम्प गइसकेका छन्। यसबाट करिब ५ हजार मानिस विस्थापित भएका छन्।

उप स्वास्थ्यमन्त्री बेन्जामिन पाउलस ओक्टेभियानसले भूकम्पमा परेर ३६ जना गम्भीर र ७७ जना सामान्य घाइते भएको बताए। सिक्का क्षेत्रमा मात्रै ३३ सय भन्दा बढी मानिसले घर छाडेका छन्। लगातारको परकम्पले डराएका स्थानीय बासिन्दाहरु घरभित्र पस्न सकेका छैनन्। उनीहरु बाहिरै चौरमा पालमुनि बसिरहेका छन्।

भूकम्पको केन्द्रविन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेस टापु नजिकै थियो। भूकम्पले १५७ घर पूर्ण रूपमा भत्काएको छ भने १३ सय भन्दा बढी घरमा क्षति पुगेको छ। अहिले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि ३५ सय भन्दा बढी सेना र प्रहरी खटाइएको छ।

उद्धारका लागि तीनवटा हेलिकप्टर र एउटा जहाज पठाइएको छ। तर, पहिरोले बाटो बन्द हुँदा कतिपय ठाउँमा उद्धार टोली पुग्न सकेको छैन। भूकम्पले सञ्चार सेवा र बिजुली पनि काटिएको छ, जसले गर्दा २० वटा पेट्रोल पम्प बन्द भएका छन्।