पूर्वी जापानमा भारी वर्षा: ९ जनाको मृत्यु, हजारौँ घर डुबानमा
- ३१ साउन २०८३
- १ मिनेटको पढाई
टोकियो- पूर्वी जापानमा परेको भारी वर्षा र डुबानका कारण ९ जनाको ज्यान गएको छ। बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले गर्दा १ हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक र रेल सेवा पूर्ण रूपमा प्रभावित भएको छ।
चिबा क्षेत्रमा पहिलोपटक उच्च तहको भारी वर्षाको चेतावनी दिइएको थियो। त्यहाँ २४ घण्टाभित्रै ३० सेन्टिमिटर पानी परेको छ। यो ६० वर्षयताकै अगस्ट महिनामा परेको सबैभन्दा ठूलो पानी हो। चिबामा अगस्ट महिनाभर पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी पानी केही दिनमै परिसकेको छ।
बाढी र डुबानमा परेर ज्यान गुमाएकामध्ये केही मानिस डुबेका गाडीभित्र र केही सडकमा भेटिएका थिए। बाढीले ७० भन्दा बढी घरमा आंशिक क्षति पुर्याएको छ भने सडकमा करिब १२ सय गाडी अलपत्र परेका छन्। अहिले अधिकारीहरुले सडक खुलाउन ती गाडी हटाउने काम गरिरहेका छन्।
जलवायु परिवर्तनका कारण यस्ता मौसमी घटनाहरु धेरै हुने, लामो समयसम्म रहने र थप खतरनाक बन्दै गएको वैज्ञानिकहरुले बताएका छन्।