मध्यपूर्वमा अमेरिकी कमाण्डरको भ्रमण: लेबनानमा इजरायली आक्रमणबाट ११ को मृत्यु
- ३१ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी सेनाका मध्यपूर्व कमाण्डर एडमिरल ब्राड कुपरले १० दिने भ्रमणका क्रममा अरब सागरमा रहेको विमानवाहक जहाज ‘युएसएस लिंकन’को अवलोकन गरेका छन्। इरानविरुद्धको युद्धमा सहयोग गर्न यो जहाज गत जनवरीदेखि नै समुद्रमा छ। २४० दिनभन्दा बढी समय लगातार समुद्रमै रहँदा त्यहाँ खटिएका हजारौँ सैनिकहरूमा मानसिक स्वास्थ्य र खानापानीको समस्या देखिएको छ।
उता, इजरायलले शनिबार दक्षिणी लेबनानमा आक्रमण गर्दा कम्तीमा ११ जनाको ज्यान गएको छ। इजरायलले हिजबुल्लाहका दुई जना कमाण्डरलाई लक्षित गरेर यो आक्रमण गरेको बताएको छ। गत जुन महिनामा युद्धविराम भएयता यो नै लेबनानमा भएको सबैभन्दा ठूलो आक्रमण हो।
यसैबीच, गाजामा युद्धविराम गर्ने विषयमा छलफल गर्न हमासको एउटा टोली आइतबार इजिप्टको राजधानी कायरो पुगेको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनालाई लिएर इजिप्टका अधिकारीहरूसँग कुराकानी गर्दैछन्। तर, इजरायलले भने हमासले पूर्ण रूपमा हतियार नबुझाएसम्म आफ्नो सेना फिर्ता नहुने अडान लिएको छ।
अर्कोतर्फ, इरानले आफ्ना तीन जना पाइलटलाई कतारले बन्धक बनाएर राखेको आरोप लगाएको छ। गत मार्चमा विमान खसालिएपछि ती पाइलट बेपत्ता थिए। तर, कतारले भने यो आरोप झुटो भएको र खसालिएको विमान नजिक एक जना पाइलटको शव मात्र फेला परेको बताएको छ।