१ भदौ २०८३, सोमवार
17 August 2026, Monday

बेल्जियमको जङ्गलमा भीषण आगलागी: सयौँ मानिस विस्थापित

बेल्जियमको जङ्गलमा भीषण आगलागी: सयौँ मानिस विस्थापित

न्युयोर्क- बेल्जियमको पूर्वी क्षेत्रमा रहेको ‘हाई फेन्स’ प्राकृतिक आरक्षमा भीषण आगलागी भएको छ। आइतबारसम्म करिब ३० वर्ग किलोमिटर जङ्गल जलेर नष्ट भएको छ। यसलाई बेल्जियमको इतिहासकै सबैभन्दा ठूलो आगलागीमध्ये एक मानिएको छ।

हावाको दिशा फेरिएर धुवाँ बस्तीतर्फ फैलिएपछि वामेस र बुटगेनबाच क्षेत्रका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। पर्यटकहरूलाई पनि त्यहाँबाट हट्न भनिएको छ भने विस्थापित मानिसहरुलाई राख्न नजिकैको व्यायामशाला खुला गरिएको छ।

आगो निभाउन २५० भन्दा बढी सुरक्षाकर्मी र दमकलकर्मी खटिएका छन्। बेल्जियम र जर्मनीका दमकलकर्मीसँगै हेलिकप्टरको पनि प्रयोग भइरहेको छ। सुख्खा जमिन र अप्ठ्यारो भूबनोटका कारण आगो निभाउन गाह्रो भइरहेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म घरहरूमा क्षति नपुगे पनि आगो बस्ती नजिकै पुगेको छ।

स्थिति गम्भीर बनेपछि युरोपेली संघको सहयोगमा स्विडेन, नेदरल्यान्ड्स र चेक गणतन्त्रले पनि आगो निभाउन पानी छ्याप्ने विमान र हेलिकप्टर पठाएका छन्। पछिल्लो समय बढेको अत्यधिक गर्मी र सुख्खा मौसमका कारण फ्रान्स, जर्मनी र बेलायतका विभिन्न जङ्गलमा पनि यसैगरी आगलागी भइरहेको छ।