२२ भदौ २०८३, सोमवार
7 September 2026, Monday

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासको आकार उल्लेख्य रूपमा घटाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। इरान युद्धमा दक्षिण कोरिया सहभागी हुन नमानेको र उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको भन्दै उनले यस्तो निर्णय लिएका हुन्।

ट्रम्पका अनुसार हरेक वर्ष हुने यस्ता ठूला सैन्य अभ्यासले उत्तर कोरियाप्रति शत्रुतापूर्ण सन्देश दिन्छ। सैन्य अभ्यास सुरु हुनुभन्दा केही घण्टा अगाडि सामाजिक सञ्जालमा लेख्दै उनले अभ्यास पूर्ण रूपमा रद्द गर्न ढिलो भइसकेकाले यसको दायरा घटाउन निर्देशन दिएको बताएका छन्। उनले इरानको निशस्त्रीकरणमा साथ दिन गरेको आग्रहलाई दक्षिण कोरियाले अस्वीकार गरेको समेत उल्लेख गरे।

यता, दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने ‘उल्ची फ्रिडम शिल्ड’ नामको उक्त सैन्य अभ्यास तय भएको तालिका अनुसार नै अघि बढिरहेको जनाएको छ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले अमेरिकासँग नजिकको समन्वय कायम रहेको स्पष्ट पार्दै ट्रम्प र किम जोङ उनबीचको सम्बन्धले दुई देशबीच पुनः अर्थपूर्ण वार्ता सुरु भई कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

उत्तर कोरियाले यस्ता संयुक्त अभ्यासलाई आक्रमणको तयारी भन्दै लगातार विरोध गर्दै आएको छ। यद्यपि, अमेरिकाका केही सांसद र विज्ञहरूले भने अभ्यास घटाउने ट्रम्पको यो कदमले दुई देशको सुरक्षा सहकार्य र तयारीलाई कमजोर बनाउन सक्ने भन्दै आलोचना गरेका छन्।